मध्य रातिबाट मौन अवधि सुरु, यस्ता कार्य गर्न कानूनी रुपमा बन्देज
काठमाडौं - मंसिर १४ गते हुन लागेकाे उपनिर्वाचनको लागि कानून बमाेजिम माैन अवधि सुरु हुने भएकाे छ। बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु हुन लागेकाे निर्वाचन कार्यालयले जनाएकाे छ। ३५ जिल्लामा ५२ पदको लागि हुने उपनिर्वाचनमा मतदातासँग मत माग्ने तथा रिझाउने लगायतका कार्य गर्ने आज अन्तिम दिन हो।
१४ गते हुने उपनिर्वाचनमा एक प्रतिनिधिसभा र ३ स्थानमा प्रदेशसभाको उपनिर्वाचन हुँदैछ। त्यस्तै ४८ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। जसका लागि ५ सय ३७ मतदान केन्द्र तोकिएको छ।
४८ पदको लागि स्थानीय तहको उपनिर्वाचनमा २ सय ७३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभामा ६४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचन आयाेगका अनुसार मौन अवधिमा निम्न कुरा गर्न पाइनेछैन्।
- निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन।
- मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय
मिटर वरिपरी राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा
प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्छ।
- एस.एम.एस, फेसबुक, भाईबर जस्ता विद्युतीय माध्यमद्वारा
प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र
निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।
- उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी
कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन्।