चोरिएका १७ मोटरसाइकल फेला
काठमाडाैँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ मोटरसाइकल फेला पारी आज सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको छ । उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु, भक्तपुर, गौशाला, सोह्रखुट्टेलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाइएको महाशाखाले जनाएको छ ।
चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता रविकुमार पौडेलले जिम्मा लगाए ।
महाशाखाबाट सबिना तामाङ, गणेश खकुरेल, प्रकाशमान सिंह, भीमप्रसाद दुलाल, तारा भण्डारी, अमित ठकुरी, राजाराम थापा, सुमन राना, सकिन खड्गी, प्रवीण सुवेदीलगायतले आजै मोटरसाईकल बुझेर लगेका छन्। उनीहरुले मोटरसाइकल खोजी गर्ने प्रहरीहरुलाई धन्यवादसमेत दिए । चालू आवमा हराएका १ सय १८ मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।