News

विवाहपञ्चमी महोत्सव सुरु

विवाहपञ्चमी महोत्सव सुरु

जनकपुरधाम। रामजानकी विवाहपञ्चमी महोत्सव मंगलबारबाट जनकपुरधाममा सुरु भएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगर दर्शनको क्रममा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई जनकपुरधाममा घुमाइएको छ ।  जानकी मन्दिरको प्रागंणमा मिथिलानगर बनाएर राम लक्ष्मणलाई घुमाउँदा हजारौं महिला पुरुषले जयजयकार गरेका थिए । दर्शनार्थीहरूले राम लक्ष्मणलाई फूलैफूलले स्वागत गरेका थिए ।

प्रदेश २ का भौतिक योजना तथा निर्माणमन्त्री जितेन्द्र सोनलको विशेष उपस्थितिमा भएको सो कार्यक्रममा कलाकारले स्वागत गान गाएका थिए । त्रेता युगको झलकका रूपमा यो दृश्य रहेको प्रदेश २ का सांसद रामअशीष यादवले बताए । यस्तो क्षण जीवनमा पहिलो चोटी देखेको धेरैले बताइरहेका थिए ।

यो कार्यक्रम ३ घण्टाभन्दा बढी चलेको थियो । समारोहमा मिथिलाञ्चलका चर्चित गायिका कुमारी पुनम मिश्रले बिहेका गीत गाएका थिए । मंसिर १० गतेदेखि १६ गतेसम्म जनकपुरधाममा महोत्सव हुनेछ । मंसिर ११ गते फूलबारी लीला, १२ गते धनुष यज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५गते स्वयम्बर र विवाह तथा १६ गते रामकलेवा हुनेछ ।
मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवको आयोजना गरिँदै आएको छ ।

यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।  

विवाहपंचमी

विशेष