जसले दिएकी थिइन् ओलीलाई नयाँ जीवन
काठमाडौँ। शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन् । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो,’ अन्जानले कान्तिपुरसित भनिन्, ‘दाइ, के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुवै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो ।’
त्यस बेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई आफ्नै मिर्गौला दिएर बचाउने । आमा भएको १५ महिना लाग्दै गरेकी अन्जान त्यतिबेला भर्खर २१ वर्ष लागेकी थिइन् । यस्तोमा उनको कुरालाई केपीले सुरुमा एक अल्लारे केटीको लहड ठानेर उडाइदिए । तर, उनले मिर्गौला आफैंले दिन्छु भन्दै अड्डी कसेपछि भने केही गम्भीर भए, अनि भने, ‘तँ सानै छेस्, बच्चा पनि सानै छ, हुँदैन बा हुँदैन !’
अन्जानले भने मिर्गौला दिन्छु भनेर जिद्दी गरी नै रहिन् ।
पत्नी राधिका शाक्यलगायत अन्य आफन्तको रक्त समूह नमिलेपछि ओलीलाई अन्त्यमा अन्जानकै आग्रह स्वीकार्न कर लाग्यो । किनभने उनको मिर्गौला चिकित्सकीय दृष्टिले प्रत्यारोपणका लागि उपयुक्त ठहरिएको थियो ।
यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन।
अन्जान घिमिरे