नेपालले ध्वजावाहक पानीजहाज चलाउन पाउने, पारवहन सन्धिमा अब जलमार्ग
काठमाडौँ । नेपालले आफ्नै ध्वजावाहक पानीजहाज चलाउने विषयमा प्राविधिक रूपमा सहमति जुटेको छ ।राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरवलोकन बैठकले भारतले निर्माण गरेको ‘इनल्यान्ड वाटरवेज’मा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्न दिने विषयमा सहमति जुटाएको हो ।
सँगै आफ्नै जलमार्ग सञ्चालन गर्ने सरकारको योजनाले पारवहन सन्धिको मस्यौदामा औपचारिक रूपमा प्रवेश पाएको छ । सहमतिमा नेपाली टोलीको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय टोलीको नेतृत्व गर्नुभएका वाणिज्य मन्त्रालयका सहसचिव भूपिन्दर सिंह भल्लाले हस्ताक्षर गर्नुभयो ।
सहमतिअनुसार नेपालले भारतको वाराणसी, कालुघाट र साहेबगञ्जबाट कोलकातासम्म आफ्नै पानीजहाज सञ्चालन गर्न सक्नेछ । पानीजहाज सञ्चालनका प्राविधिक विषयमा पनि बैठकले सहमति जुटाएको छ । स्थल र रेलमार्गबाट भारतसँग नेपालको पारवहन हुँदै आएकोमा यो सहमतिले जलमार्गबाट व्यापार गर्नसक्ने नयाँ अवसर नेपालका लागि खुला भएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा बिश्वास रेग्मी र गोपालचन्द्र सुबेदीले लेखेका छन ।
ध्वजावाहक पानीजहाज