News विदेश

अल्बानिया भूकम्पमा अपडेट : मृतककाे संख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण बन्दै

अल्बानिया भूकम्पमा अपडेट : मृतककाे संख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण बन्दै

डुरेस- अल्बानियामा दुई दिन पहिले गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर तथा भवनहरू भत्किएर भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना क्षीण भएको अधिकारीहरूले बताएका छन्।

स्थानीय समय अनुसार मङ्गलबार बिहानै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि ठूला पराकम्पनहरू गएका छन्। अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ। यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन्। 

अल्बानियाको राजधानी तिरानाबाट ३३ किलोमिटर पश्चिममा रहेको शहर डुरेसमा भूकम्पका कारण सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको बताइएको छ। बुधबार राति भग्नावशेषबाट ६ मृत शरीर निकालिएसँगै मृत्यु हुनेको सङ्ख्या ४० पुगेको सरकारले जनाएको छ।

सरकारले भग्नावशेषमा गरिएको उद्धारबाट कसैलाई जीवित पाउन सक्ने विश्वास क्षीण भएको बताएको छ। यद्यपि डुरेसमा उद्धार जारी राखिएको छ तर देशका अन्य भागमा भने भूकम्पपछि बेपत्ता भएका भनिएका सबैलाई जीवित तथा मृत अवस्थामा भेटिसकिएको भन्दै उद्धारको काम रोकिएको छ।

अल्बानिया भूकम्पका कारण ६५० जनाभन्दा बढी घाइते भएका छन् भने घर तथा आवास भत्किएका कारण करिब २ हजार १ सय नागरिकले दुई दिनदेखि पालमुनि रात बिताउन बाध्य भएको बताइएको छ।

अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पपछि पनि ५ म्याग्निच्युडका पराकम्पन आउँदा थप घरहरू भत्किने क्रम जारी हुँदा उद्धार प्रयासमा समेत जटिलता उत्पन्न भएको छ। 

बाल्कन मुलुकमा गएको भूकम्पमा छिमेकी यूरोपेली मुलुकहरूबाट खोजी तथा घरबारविहीनलाई राहत तथा सहयोग पुर्‍याउने काम भएको छ। भूकम्पपछि तत्काल उक्त क्षेत्रमा उद्धारकर्मी, उद्धारका लागि विशेष सामग्री, तालिमप्राप्त कुकुर तथा आपतकालीन सामग्रीहरू आपूर्ति गरिएको थियो।

अल्बानियाका अधिकारीले क्षति भएका घर तथा भवनहरूमा प्राविधिक (इन्जिनियर)ले परीक्षण नगरेसम्म प्रवेश नगर्न आग्रह गरेका छन्। 

अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाएका थिए। उनले भूकम्पका कारण ६ सय ५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिए।

रक्षामन्त्री झाखाले क्षतिग्रस्त स्थानको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गरे। -रासस

विशेष