प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलासिस, स्वास्थ्यमा सुधार

काठमाडौं : मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ बुधबार बिहानदेखि खुसी देखिन्थे। प्रधानमन्त्री केपी ओलीलाई उच्चस्तरको उपचार व्यवस्था मिलाउने व्यवस्थापकीय नेतृत्व गरेका श्रेष्ठ सुरुका चौबिस घण्टा मलीन अनुहारमा देखिएका थिए। अत्यधिक पेट दुखेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान नौ बजे सेन्टरमा पुगेका थिए। उपचारमा कमी हुन नदिन श्रेष्ठ बिहानदेखि खटिए।
बुधबार साँझ सात बजे उनै डा. श्रेष्ठले विज्ञप्ति जारी गर्दै सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी सार्वजनिक गरे।
प्रधानमन्त्री ओलीलाई केही दिन राखेर पूर्ण स्वास्थ्य लाभ गरेपछि मात्र बालुवाटार पठाइने डा. श्रेष्ठले बताए। विज्ञ चिकित्सक टोलीले परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटमा संक्रमण भएको पत्ता लागेको थियो। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियामा ढिलाइ गर्दा जोखिम निम्तिने आंकलन गर्दै तत्काल शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गर्दा सेन्टरछेउमा रहेको त्रिवि शिक्षण अस्पतालका सर्जनद्वय प्रा.डा. रमेशसिंह भण्डारी र पलेश्वा जोशी लाखेलाई पनि बोलाइयो। ल्याप्रोटोमी, एपेन्डेक्टोमीलगायतका विधिबाट उपचार गरिएको मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुधबार बिहानदेखि सुधारोन्मुख रहेको छ।
यो समाचार अन्नपुर्ण पोस्ट दैनिकबाट लिइएको हो।
प्रधानमन्त्री ओली डायलासिस पाँचौं पटक