News

निजी आवास अनुदानका लागि भूकम्प पीडितलाई पुनः अवसर

निजी आवास अनुदानका लागि भूकम्प पीडितलाई पुनः अवसर

काठमाडौँ । सरकारले निजी आवास पुनर्निर्माण गर्न अनुदानका लागि भूकम्प पीडितलाई पुनः एकपटक अवसर प्रदान गरेको छ ।

भूकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी सम्हालेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई अनुदानका लागि पुनः अवसर दिएको हो । तर, उनीहरूले सामान्य सर्त भने पूरा गर्नुपर्नेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने निर्णय गरेको हो ।

प्राधिकरणले २१ असार २०७६ सम्म सम्झौता नगरेका र २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीलाई एकपटकका लागि सम्बन्धित स्थानीय तहले घर पुनर्निर्माणको सुनिश्चितता गरी सिफारिस गरेमा जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले आवश्यक छानबिन गरी जिल्ला पुनर्निर्माण सहजीकरण समितिमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

जिल्ला पुनर्निर्माण सहजीकरण समितिले यसरी प्राप्त गरेका विवरण र सिफारिससमेत अध्ययन गरी सम्बन्धित लाभग्राहीबाट आफ्नो आवास तोकिएको समय सीमाभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता भएको पाएमा स्थगन गरिएको अनुदान उपलब्ध गराउने भएको छ । यसरी लाभग्राही कायम भएकाले पहिलो किस्ता २०७६ पुस मसान्तभित्र र दोस्रो किस्ता २०७६ माघ मसान्तसम्म लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन।  

पुनर्निर्माण अनुदान अवसर

विशेष