News

नेपालको तरकारी युएई र कतारमा

नेपालको तरकारी युएई र कतारमा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ ।

महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ÷सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताउनुभयो । झण्डै एक वर्षदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र पठाउने गरेको बताउँदै उहाँले कतारमा १५ हजार मेट्रिक टन नेपाली तरकारी माग रहेको छ तर यहाँ नै तरकारीको अभाव रहेका कारण मागअनुसार पठाउन नसकेको उहाँले बताउनुभयो । भदौदेखि यूएई पनि पठाउन थालिएको छ । त्यहाँ दैनिक तीनदेखि चार हजार मेट्रिक टन तरकारी पठाउने सम्झौता भएको छ तर उत्पादन कम भएका कारण अहिले मागअनुसार पठाउन नसकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, नेपालमा एक त तरकारी महँगो छ, त्यसमा पनि उत्पादन कम छ, त्यही भएर मागअनुसार पठाउन सकिएको छैन । यदि सरकारले सहयोग गर्यो भने दैनिक चार–पाँच हजार मेट्रिक टन पठाउने उहाँले दाबी गर्नुभयो। 

यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन।  

 

तरकारी

विशेष