पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा ३५ जना घाइते
बारा — पूर्वपश्चिम लोकमार्गको निजगढ-पथलैया सडक खण्डको जंगलमा पर्ने उनासी पुलबाट यात्रुवाहक बस खस्दा शुक्रबार कम्तीमा ३५ जना घाइते भएका छन् । घाइते हुनेमा सिन्धुलीबाट भैरहवास्थित सेनाको तालिम केन्द्र जाँदै गरेका बसमा सवार ६ सैनिक जवान घाइते भएका छन् । उनीहरुमध्ये सैनिक जवान सानुबाबु कार्कीसहित अन्य ३ सजना सर्वसाधारणको अवस्था गम्भीर छ ।
जवानहरु कृष्ण श्रेष्ठ, प्रकाश कार्की, महादेव चौधरी, अन्जना राई र भरत विक घाइते भएका हुन्। निजगढ नगरपालिका-९ मा भएको बस दुर्घटनाका घाइतेहरुको अवस्थाअनुसार चितवन मेडिकल कलेज, हेटौंडा, चन्द्रनिगाहपुर, वीरगन्जलगायतको ठाउँका अस्पतालमा उपचारको लागि पठाइएको निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए। घाइतेमध्ये ६ जना समान्य उपचारपछि घर फर्केको उनले बताए।
जनकपुरबाट बुटवल तर्फ जाँदै गरेको जलान ट्राभल्सको ना४ ख ७९९० नम्बरको बस निजगढ बजारबाट ३ किमी पश्चिममा पर्ने उनासी पुलबाट तल बगरमा खसेको थियो। तीव्र गतिमा गुडिरहेको बसको स्प्रिङपत्ता भाँच्चिएपछि बस पुलबाट मुनि खसेको प्रहरी निरीक्षक थपलियाले बताए। बस पुलकोबीच भागबाट ४० फिट तल खसेको थियो।