एक लाखको पत्थर करोडौमा बेच्न खाेज्ने गिराेह पक्राउ
काठमाडौं– एक लाखको बिभिन्न पत्थरहरु करोडौमा बेच्न खाेज्ने गिराेह पक्राउ परेका छन्। गैरकानूनीरुपमा ओसारपसार गरी उक्त एक लाखकाे पत्थरहरु करोडौ मूल्यमा बेच्न खोज्ने गिराेहमा संलग्न पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा झापा गौरादह न.पा. वडा नं. १का हरि खापुङ, झापा शिबसताक्षीधाम न.पा. वडा नं. ४ का यम कुमार गिरी, मोरङ बुढिगंगा गा.पा. वडा नं. ५ का लोक बहादुर सार्की , रौतहट चन्द्रपुर न.पा. वडा नं. १ का भीम बहादुर लामा रहेका छन् ।
मंसिर १२ गते काभ्रेपलान्चोक जिल्लाको पनौती एरियामा बस्ने नवराज खड्का लगायतका व्यक्तिहरुले एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौ मुल्य पर्ने भनि झूक्याई कारोवार गर्न लागेको भन्ने बिशेष सूचना आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेपलान्चोक बेथानचोक गा.पा. वडा नं. ४ घर भई पनौती न.पा. वडा नं. ४ बासडोल बस्ने नबराज खड्का सहित पाँच जनालाई पक्राउ गरेको थियो ।
उनीहरुको कोठाबाट बिभिन्न रङका मोजनाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र पहेलो धातुमा जडित औठी ८.९३ ग्राम फेला पारी बरामद गरी निजहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।