पनौती बिश्वसम्पदा सूचीमा सुचिकृत हुन सक्ने

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ। युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेको नगरपालिकाले जनाएको छ ।
पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले भर्खरै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर विश्वसम्पदामा सूचीकृत हुन सक्ने बताएका थिए।
यहाँका मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न तयार भएको मनहर्टले बताउनुभएको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी सूचीकृत हुने तयारीमा छौँ, चालू आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेका छौँ ।” नगरले चालू आवमा विश्व सम्पदामा सूचीकृत गराउन एक करोड बजेट छुट्याएको छ ।
“पनौतीलाई अझ सम्पदाजन्य बनाउन अहिले आएको गुरुयोजनाअनुसार तत्काल काम सुरु हुनेछ । यहाँका पाटीपौवा, सत्तल, मन्दिर र घरहरुलाई परम्परागत शैलीमा समृद्ध बनाइनेछ”, प्रमुख न्यौपानेले भन्नुभयो ।सूचीकृतको यस प्रक्रियामा आफूद्वारा पुनःनिर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ ।
विश्व सम्पदा सूची काभ्रे, पनौती