लिपुलेक सडक निर्माणले महाकाली थुनिने खतरा
दार्चुला। भारतले नेपाल–भारत सीमा नदी महाकालीको किनारैकिनार लिपुलेक सडक निर्माण गर्दा नदीको बहाव थुनिने खतरा बढेको छ । भारतले व्यास गाउँपालिका–१ र २ को पारिपट्टि चट्टान फुटाएर सडक निर्माण गर्दै छ । त्यसका क्रममा खस्ने ढुंगा र माटो नदीमा थुप्रिएर बहाव थुनिने खतरा बढेको हो ।
सडक निर्माणका क्रममा निस्केका ठूला ढुंगा नदी किनारमा फालिएको छ । ‘त्यसले धैरै ठाउँमा नदी ताल परेको छ,’ व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय दीपेन बुढाथोकीले भने, ‘दुम्लिङदेखि माथिल्लो क्षेत्रमा महाकाली साँघुरिएर बगिरहेको छ ।’
व्यास गाउँपालिका–५ धौलाकोटको पारितर्फको तवाघाटदेखि महाकाली नदी साँघुरिँदै गएको छ । सडक निर्माणका क्रममा चट्टान फोर्न प्रयोग गरिएको विस्फोटले पनि नेपाली बस्तीलाई जोखिममा पारेको छ । तवाघाट, तिउतला, बत्तिघाट, पांगलादेखि गर्भासम्म भारततर्फ र नदीको बीचसम्म ठूल्ठूला ढुंगा फालिएको छ । गर्भादेखिको माथिल्लो क्षेत्रमा भारततर्फको चट्टानी भूभाग फोरेर सडक खन्न विस्फोट गराउँदा त्यसको असर नेपाली भूभागसम्मै परेको बुढाथोकीको भनाइ छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा मनोज बडूले लेखेका छन।