News

भारत र चीनसम्म पुग्छन हिउँ चितुवा

भारत र चीनसम्म पुग्छन हिउँ चितुवा

काठमाडौँ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी सूचनाको नियमित जानकारी आउन थालेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेतृत्वको प्राविधिक कर्मचारी टोलीले गत कात्तिक ३० गते करिब चार वर्ष उमेर र ३८ केजी तौल भएको ‘जेदोराङ’ नामको वयस्क भाले हिउँ चितुवामा ‘सेटलाइट कलार’ जडान गरिएको थियो ।

यसैगरी मंसिर २ गते करिब पाँच वर्ष उमेर र ३३ केजी तौल भएको ‘स्यामिङ’ नामको वयस्क भाले हिउँ चितुवामा सेटलाइट कलार जडान गरिएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । जडान गरिएका हिउँ चितुवाको अवस्थितिसम्बन्धी सूचनाको जानकारी नियमितरूपमा आउन थालेको विभागले जनाएको छ ।

स्थानीय पहिचानका आधारमा ती हिउँ चितुवाको नाम राखिएको हो ।  सेटलाइट कलार जडानअघि अनुभवी प्राविधिक टोलीले हिउँ चितुवालाई पासोमा पारेर बेहोस् बनाई स्वास्थ्य जाँचपछि कलरिङ गर्ने गर्दछन् । गत भदौ १५ गतेको वनमन्त्रीस्तरीय निर्णयअनुसार विभागले पाँच वर्षभित्र १२ हिउँ चितुवालाई सेटलाइट कलार लगाई अध्ययन गर्ने उद्देश्यबमोजिम शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सेटलाइट कलार जडान गरी सुरुआती थालनी गरिएको हो ।

सौर्य दैनिकबाट साभार 

हिउँ चितुवा

विशेष