News

प्रचण्डलाई चिनियाँ राष्ट्रपतिको निम्तो, २४ मंसिरमा चीन भ्रमणमा जाँदै

प्रचण्डलाई चिनियाँ राष्ट्रपतिको निम्तो, २४ मंसिरमा चीन भ्रमणमा जाँदै

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनी २४ मंसिरमा नेकपाका ४ दर्जनभन्दा बढी नेता कार्यकर्तासहित चीन जाने तयारीमा छन्  । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रपति सी जिनपिङको आग्रह र निमन्त्रणामा चीन जान लागेको बताए । सीसँग आठपटक भेटवार्ता भइसकेको र एकअर्कालाई राम्ररी बुझेको उनको भनाइ थियो । 

‘चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा पार्टी अध्यक्षज्यूको भ्रमण हुन लागेको हो,’ नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘उच्चस्तरीय भेटवार्ता तय हुँदै छ ।’ भ्रमणको समन्वय चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले गरेको छ । राष्ट्रपति सीसँग भेटवार्ताको सम्भावना रहे पनि त्यसबारे चिनियाँ पक्षले औपचारिक जानकारी दिइसकेको छैन ।

प्रचण्डले तत्कालीन माओवादी अध्यक्षका रूपमा राष्ट्रपति सीसँग पहिलो भेटवार्ता गरेका थिए । सीलाई राष्ट्रपतिका रूपमा भेट्ने उनी पहिलो नेता हुन् । त्यसपछि प्रधानमन्त्रीका रूपमा उनले बेइजिङ र भारतको गोआमा दुईपटक सीसँग भेटवार्ता गरेका छन् । पार्टी अध्यक्षका रूपमा उनले बेइजिङ र काठमाडौंमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका छन् । ‘अहिलेसम्म हिसाब गर्दा मैले राष्ट्रपति सीसँग आठपटक भेटिसकेको छु,’ प्रचण्डले भने ।  

असोज पहिलो साता नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानसहित ६बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सहमतिमा नेकपा विदेश विभागप्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागप्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए । ‘दुई पार्टीको समझदारीका आधारमा उच्चस्तरीय भ्रमण आदानप्रदानका लागि भ्रमण हुन लागेको हो,’ उपप्रमुख रिजालले भने । समझदारीपत्रमा दुई पार्टीका कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि गर्ने, पार्टीका अनुभवमा आधारित सहयोग आदानप्रदान गर्ने, युवा र स्थानीय नेताबीच भ्रमण आदानप्रदान गर्ने पनि उल्लेख छ । प्रचण्डको भ्रमणका क्रममा नेकपाका अन्य नेता÷कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टीको सञ्चालन, प्रशिक्षण, सरकार सञ्चालनलगायत विषयमा चिनियाँ नेताको अनुभव लिने कार्यक्रम पनि छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

चीन भ्रमण पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष