News

यौन धन्दाका लागि काठमाडौंमै महिला बेचबिखन

यौन धन्दाका लागि काठमाडौंमै महिला बेचबिखन

काठमाडौंः तीन वर्षअघि काली (नाम परिवर्तन) काठमाडौँ आइपुग्दा भर्भराउँदी थिइन् । बालाजु माछापोखरीको एक होटलमा काम थालेपछि सकसको यात्रा सुरु भयो  । सानैमा बिहे भई दुई बच्चा सन्तान भए । श्रीमानको मृत्युपछि कामको खोजीमा हिडिँन् ।

‘भाँडा माझ्ने, सरसफाइ गर्ने अनि खाना पकाउन सघाउँथे’ उनले भनिन्, ‘पैसा कमाएर जग्गा घर जोड्ने र छोराछोरीसँगै बस्ने सपना थियो ।’ साहुजीले यौन शोषणसँगै यौनधन्दामा लगाएपछि उनका सपना तुहिए । नमानेमा तलब दिन्न, मारेर फाल्दिन्छु भनी धम्क्याउँथे । कहिलेकाहीँ बढी पैसा पाउँछेस् भनेर फकाउँथे ।

नशालु पदार्थ र मदिराको लत बसाउँदै अन्य होटल, दोहोरी साँझमा यौन धन्दामा पठाउँथे । सडकका रिक्सा चालकदेखि विदेशी ग्राहकसम्मले आफूलाई जथाभावी असुरक्षित यौन सम्पर्क राखेको बयान उनले प्रहरीलाई दिएकी छन् ।

यतिबेला उनी जीवन मरणको दोसाँधमा वीर अस्पतालको आईसीयू कक्षमा उपचाररत छिन् । अत्यधिक मदिरा र यौन धन्दाको सकसले शरीर क्षतविक्षत छ । यौनाङ्ग र अन्य संवेदनशील अङ्गसहित शरीरभरि चुरोट र तातोपानीले पोलेका घाउ छन् । कलेजोले काम गर्दैन।

कैलालीको एक होटलमा काम गर्ने बालिकालाई जबरजस्ती यौन धन्दामा लगाइयो । आर्थिक अवस्था कमजोर भएकी बालिकालाई होटलको भाँडा माझ्ने र अन्य काम लगाउने सर्तमा राखिएको थियो । तर होटल सञ्चालकले जबरजस्ती यौन व्यापारमा लगाएको पाइएको हो । यस घटनाको हाल कैलाली जिल्ला अदालतमा मानव बेचविखन मुद्दा चलिरहेको छ ।

घरेलु काम गर्ने बहानामा महिला र बालबालिकालाई यौन धन्दामा प्रयोग गरिएका यी दुई प्रतिनिधि घटना हुन् । जब पीडितले पीडा सहन नसकी सडकमा पुग्छन् वा कसैले सार्वजनिक गरिदिन्छन्, त्यसपछि मात्र घटना बाहिर आउँछ । धेरै महिला र किशोरी घरेलु कामबाटै यौन व्यवसायमा प्रवेश गरेका कैयौँ उदाहरण छन् ।

सङ्गठित भएका यौनकर्मी महिला आफ्ना बाध्यताका फेहरिस्त प्रस्तुत गर्छन् । राजधानीमा झण्डै पचास हजार हाराहारीका यौनकर्मी महिलामध्ये अत्यधिक आर्थिक कमजोरी र घरेलु हिंसापछि कामको खोजी गर्दैगर्दा यौन धन्दाको दलदलमा फस्न पुगेका अनुभव सुनाउँछन् ।

सहरमा एक होटलबाट अर्को होटलमा र एक सहरबाट अर्को सहरमा महिला बिक्री हुने कार्यले विकराल रूप लिँदै गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल स्वीकार गर्छन् । ‘कतिपयलाई त यो अपराध हो भन्ने नै थाहा छैन’, उनले भने, ‘विवाहित पुरुष वा महिलाले एकबाहेक अन्यसँग यौन सम्पर्क राखेमा पनि त्यो मानव बेचबिखन ठहर्ने कानुन छ ।’ 

आन्तरिक रूपमा भइरहेका यस्ता बेचबिखनमा सबैभन्दा बेइमान पुरुष नै देखिएको उनले बताए। विभिन्न प्रलोभनमा पारेर यौन धन्दामा लगाउने अनि आफू पनि गमन गर्ने काममा पुरुष अग्रसर छन् । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

यौन धन्दा महिला बेचबिखन

विशेष