प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा, तेस्रो पटक डायलाइसिस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्रान्डी अस्पताल पुगेका छन् । धापासीस्थित ग्रान्डी अस्पतालमा उनको आइतबार फेरि मिर्गौलाको डायलाइसिस गरिँदैछ ।
मृगौलाका कारण स्वस्थ्यमा समस्या देखिएपछि आइतबार बिहान फेरि उनी ग्रान्डी पुगेका हुन् । उनको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । गत बुधबार ग्रान्डीमा भर्ना भएका ओलीको बुधबार र बिहीबार गरी दुई पटक डायलाइसिस गरिएको थियो । तर यसको जानकारी ढिला गरी दिइएको थियो ।
१२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि ओलीमा नियमित डायलासिस गर्ने या फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प रहेको चिकित्सकहरुको भनाइ छ । गत साउन र भदौ गरी दुई पटक ओली सिंगापुर गएर उपचार गराएका थिए । ओलीलाई नियमित अस्पताल जानुपर्ने भएकाले प्रधानमन्त्री निवास बालुवाटारमै सुविधायुक्त उपचार कोठा बनाउने पहल भइरहेको छ ।