सुनकोशी बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो!
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँ आउँदै गरेको बा. २. ख. ७२४५ नम्बरको बस दुर्घटनामा परेको हो ।
शैलुंगेश्वर यातायातको बस सुनकोशी नदीमा खसेको थियो । दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेहरुलाई उद्दार गरेर उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ ।
बसका चालकलाई प्रहरीले जीवितै उद्धार गरेको थियो । उनी पानीमा भिजेको अवस्थामा थिए । दुर्घटनामा घाइतेको उद्धार तथा हराइरहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
केही यात्रुलाई सुनकोसी नदीले बगाएको आशंकामा खोजी जारी राखिएको छ । घाइतेमध्ये केहीको अवस्थामा गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो नै भएकाेले अहिले पनि उद्दार कार्य जारी रहेकाे बताए।
उनका अनुसार राजमार्गमा बस दुर्घटनामा परेको थियो। प्रहरीले बस तीव्र गतिका कारण अनियन्त्रित भई नदीमा खसेको अनुमान गरेको छ। घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।