News

निवर्तमान सभामुख महराको थुनछेक बहस के भयो?

निवर्तमान सभामुख महराको थुनछेक बहस के भयो?

काठमाडाैँ – निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज पनि सकिएन । संघीय संसदको सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको उजुरी दिएपछि पकाउ परेका महराको बयान सकिएपछि आज थुनछेक बहस भएको हो।

बहस नसकिएपछि महरा आज पनि थुनामै रहने भएका छन् । काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस नसकिएपछि सोमबार पनि बहस जारी रहने भएको छ ।

बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी छन् भने महराकोतर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर सेसी, सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनाली लगायत बहस गरेका छन् ।

महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका कारण थुनछेकबहसलाई सोमबारपनि निरन्तरता दिइने भएको हो । महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् ।

सोमबार थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ ।महराले बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान दिएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च अहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनसक्छ।

असोज १९ गते पक्राउ परेर दसैं हिरासतमै बिताएका महराको तिहार पनि हिरासतमै बितेको थियो।महरालाई १९ असोजमा पक्राउ गरिएको थियो ।अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक ७ कात्तिकमा थप सात दिन म्याद थपिदिएको थियो। गत १३ गते संसदकै महिला कर्मचारी रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएपछि महराले १४ नै राजीनामा दिनुपरेको थियो।

विशेष