News

पुल तर्न ३० रुपैयाँ शुल्क !

पुल तर्न ३० रुपैयाँ शुल्क !

कैलालीः पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको कृष्णपुर नगरपालिकाको बाणीदेखि लालझाडी गाउँपालिकाको देखतभुलीसम्म कालोपत्रे सडक छ । कालोपत्रे सकिनेबित्तिक्कै दोदा नदी आउँछ । दोंदापारि रहेको लालझाडी गाउँपालिकाकै जाइँसम्म जान ३० रुपैयाँ तिर्नुपर्छ । नदीमा निर्माण गरिएको काठे पुल प्रयोग गरेबापत उक्त रकम तिर्नुपरेको हो । 
 
काठे पुलमा पैदल यात्रु र साना सवारी मात्रै जान्छन् । पैदल यात्रुले पैसा तिर्नुपर्दैन । मोटरसाइकलको ३० र साइकलको १० देखि २० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । त्यसले दिनभर ओहोरदोहोर गर्न सकिन्छ । दोस्रो दिन यात्रा गर्नुपरे पुनः पैसा तिर्नुपर्छ । ‘काठे पुल पनि हिउँदमा मात्रै हो, बर्खामा त नाकाबन्दी लागे जस्तै हुन्छ,’ लालझाडी गाउँपालिका २ कसुवाका मोलसिंह रानाले भने, ‘काठे पुल बनेपछि नदी तर्न केही सजिलो भएको छ ।’ उक्त काठे पुल इटाहा बाबा मन्दिर सहयोग समिति लालझाडी जाइँले बनाएको हो । पैसा उठाउन कर्मचारी पनि राखिएको छ ।

देखतभुली र जाइँ जोड्न दोदा नदीमा पुल निर्माणाधीन छ । तर निर्माणमा भइरहेको ढिलाइका कारण यहांका स्थानीय काठे पुलकै भर पर्न बाध्य भएका हुन् । देखतभुलीमा मात्रै होइन, लालझाडीको नन्द गाउँ र बल्मीको बीचमा पनि काठे पुलकै भर छ । यहाँ पनि साइकलको २० र मोटरसाइकलको ३० रुपैयाँ शुल्क लिने गरिएको छ ।

बल्मी र नन्द गाउँ जोड्न पनि दोदा नदीमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । त्यसमा पनि उल्लेख्य प्रगति भएको छैन, जसकारण स्थानीयले काठे पुलकै भर पर्नुपर्ने बाध्यता छ । असोज अन्तिमदेखि जेठसम्म उनीहरूले नदी तर्न काठे पुलको भर पर्नुपर्छ । त्यसपछि काठे पुल पनि बाढीले बगाउँछ । आवतजावत ठप्प हुन्छ ।

लालझाडी गाउँपालिकामा ४ ठाउँमा काठे पुलको सहारामा नदी तर्नुपर्ने बाध्यता छ । यी दुई ठाउँबाहेक नन्दगाउँ र पर्सियाको बीचमा पनि काठे पुल बनाइएको छ । बेलौरी नगरपालिका ५ को भुकन्डा र लालझाडी गाउँपालिकाको कञ्ज जोड्न पनि काठे पुल निर्माण गरिएको छ । उक्त ठाउँमा पनि पक्की पुल निर्माणाधीन अवस्थामै छ । तर निर्माण कम्पनीले तीन वर्षदेखि निर्माण अघि बढाएको छैन ।

केही ठाउँमा व्यक्तिगत र कतिपय ठाउँमा सामूहिक रूपमा काठे पुल निर्माण गरिएको छ । एउटा पुल बनाउन २५ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । ती पुलबाट दैनिक २०–२५ मोटरसाइकल र त्यतिकै संख्यामा साइकल आउजाउ गर्ने गरेका छन् । ‘१२ हजार खर्च गरेर बाँसको पुल बनाएँ, अहिले दैनिक ३–४ सय रुपैयाँ कमाइ भएको छ,’ नन्द गाउँ बल्मी जोडन दोदा नदीमा काठे पुल निर्माण गरेका स्थानीय चेतराम रानाले भने, ‘माघ–फागुनमा दिनमा ७–८ सय रुपैयाँसम्म आम्दानी हुन्छ ।’

बर्खाका बेला लालझाडीका बासिन्दाले आउजाउ गर्ने एउटै माध्यम कञ्ज र बेलौरी नगरपालिकाको रामनगर जोड्ने झोलुंगे पुल हो । तर गाउँपालिकाको माथिल्लो भेगका बासिन्दाका लागि यो पुलको यात्रा निकै घुमाउरो हुन्छ । बर्खामा काठे पुल बगाएपछि स्थानीयले एक–डेढ घण्टा समय लाग्ने भए पनि झोलुंगे पुलबाट यात्रा गरिरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

पुल काठे पुल

विशेष