गुठी संस्थानलाई मन्त्री अर्यालको कडा निर्देशन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले मातहतका सबै जग्गाको रेकर्ड तत्काल चुस्तदुरुस्त बनाउन गुठी संस्थानलाई कडा निर्देशन दिनुभएको छ ।
गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहमा मन्त्री अर्यालले जनताको भावनासँग प्रत्यक्ष रुपमा जोडिएको गुठीको जग्गाको विवरण सबैले देख्नेगरी तत्काल रेकर्ड राख्न संस्थानलाई निर्देशन दिनुभएको हो । मन्त्री अर्यालले संस्थानले मातहतको जग्गा अतिक्रमित हुँदा पनि वास्ता नगरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।
मन्त्री अर्यालले गुठीको जग्गामाथि चलखेल हुने गरेकाले त्यसको सत्यतथ्य बाहिर ल्याउन पनि गुठी संस्थानको नेतृत्वलाई सचेत गराउनुभयो । संस्थानसँग अतिक्रमित जग्गाको समेत यकीन तथ्यांक नहुनु दुःखको कुरा भएको उहाँको भनाइ थियो ।