मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त
काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हाे ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो ।
गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरे ।
कोइरालाले केन्द्रीय बाल अस्पताल खोल्ने योजना बनाएका छन् । सरकारले सो अस्पतालको लागि जग्गा उपलब्ध गराइसकेको छ ।