महरा जेल चलान, डिल्लीबजार कारागार लगियाे
काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा उनलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो । उनलाई डिल्लीबजार कारागार लगिएकाे छ।
जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशले यस्तो आदेश दिएको छ। थुनछेक बहसमा सरकारी वकिल र महराका कानुन व्यवसायीले आ-आफ्नो प्रतिरक्षा गरेका थिए।
वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहकादुर केसी, कविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाको बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए।
शुक्रबार जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा बयान लिने क्रममा महराले शाहीको कोठामा आफू नगएको बयान दिएका थिए। यो बयान जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान लिइएको हो।
इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका थिए।