News

राजनीतिक दलको आडमा ३६ गुण्डा नाइके

राजनीतिक दलको आडमा ३६ गुण्डा नाइके

काठमाडौँ।  तत्कालीन नेकपा एमाले निकट चरी भनिने 'दिनेश अधिकारी' ०७१ साउन २१ गते काठमाडौंको भीमढुंगामा ‘प्रहरी मुठभेड’ मा मारिए । संगठित अपराधमा संलग्न चरी मारिएको भोलिपल्ट एमालेले संसदमा विरोध जनायो । धादिङका एमाले सांसदहरू राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीको इन्काउन्टर नभई हत्या भएको भन्दै त्यसबारे सरकारसँग जवाफ मागे ।

-०७२ भदौ ३ मा अर्का ‘गुन्डा नाइके’ कुमार घैंटे भनिने कुमार श्रेष्ठ सामाखुसी, कपुरधारामा प्रहरीको गोलीबाटै मारिए । उनको मृत्युपछि कांग्रेसले सदनदेखि सडकसम्म विरोध गर्‍यो ।

-घैंटे कांग्रेसका सक्रिय कार्यकर्ता भएकाले राजनीतिक प्रतिशोध लिन हत्या गरिएको भन्दै तत्कालीन सांसदहरू जगदीश्वरनरसिंह केसी र धनराज गुरुङसहितका नेताले विरोधको नेतृत्वगरे ।

-२०७३ पुस ४ मा रूपन्देही र नवलपरासी सीमाको खैरहनीमा युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भयो । घटनाका आरोपित मनोज पुन र सुटर सोमबहादुरआले ०७४ फागुन ९ मा प्रहरीको कारबाहीमा मारिए । तत्कालीन माओवादी र एमालेसँग आबद्ध रहिसकेका दुवै जना सोही वर्ष असोज २३ मा काठमाडौंमा भएको निर्माण व्यवसायीशरदकुमार गौचनको हत्या आरोपमा समेत जोडिएका थिए ।

-प्रहरी इन्‍काउन्टरमा मारिएका बाहेक जघन्य अपराधमा केही गुन्डा नाइके जेलमा छन् । केही फरार र केही अनुसन्धान क्रममा छन् । उनीहरू राजनीतिक संरक्षणका लागि विभिन्न दलमा आबद्ध छन् ।

निर्माण सामग्री बिक्रीमा ठगी अभियोग लागेका बाघे भनिने शुकबहादुर लामा केही साताअघि पक्राउ परेपछि कांग्रेस नेताहरूले प्रहरीलाई फोन गरेर छाड्न दबाब दिए । जुवाको खालबाटसमातिएका बले भनिने बलराम सापकोटालाई छुटाउन पनि नेकपाका नेताहरूबाट दबाब आयो ।

प्रहरीको ‘क्राइम रेकर्ड’ अनुसार राजधानीमा ३६ जना गुन्डा नाइके विभिन्न दलका राजनीतिक संयन्त्रमा सक्रिय छन् । उनीहरूलाई सत्तारूढ नेकपा, प्रतिपक्ष कांग्रेस र अन्य साना दलतथा पूर्व ‘राजावादी’ समूहले संरक्षण दिने गरेका छन् ।

अदालतबाट सजाय भोगिसकेका १९ गुन्डा नाइके कांग्रेससँग निकट छन् भने ९ जना सत्तारूढ नेकपासँग नजिक छन् । बाँकी आठ जना अन्य राजनीतिक दलसँग जोडिएका छन् ।

दीपक मनाङे भनिने मनाङका राजीव गुरुङ गण्डकीमा नेकपाका बहालवाला प्रदेश सांसद छन् । मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका उनी २०७६ असार १९ मा नेकपा प्रवेश गरेका थिए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा मातृक दाहालले लेखेका छन।  

३६ गुण्डा नाईके राजनीतिक संरक्षणमा

विशेष