News

उखु मिलले टेरेन किसानलाई

उखु मिलले टेरेन किसानलाई

रौतहटः विगत वर्षमा बिक्री गरेको उखुको रकम भुक्तानी नपाएपछि रौतहटका उखु उत्पादक किसान चिन्तित बन्दै गएका छन् । रौतहटको मध्यभाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले क्रसिङ सिजनमा खरिद गरेको उखुको भुक्तानी नदिएपछि जिल्लाका किसान चिन्तित बनेका हुन् ।

छठ पर्वपछि लगत्तै भुक्तानी नदिएमा उखु उत्पादक सङ्घ रौतहट र जिल्लाका सम्पूर्ण पीडित किसानले कडाभन्दा कडा आन्दोलन गर्ने जनाएका छन् । भुक्तानी समयमा नपाएको भन्दै केही दिन अघि उखु उत्पादक सङ्घका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । प्रजिअ थापाले किसानको बक्यौता रकम भुक्तानीका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

भुक्तानीका लागि पटक÷पटक वार्ता र ताकेता गर्दा पनि मिल्स प्रशासनले चासो नदेखाएको उखु उत्पादक सङ्घ रौतहटका सचिव सफिन्द्र यादवले बताए । उनका अनुसार उखुको मूल्य निर्धारणदेखि भुक्तानी लिनसम्म आन्दोलन नै गर्नुपर्ने भएपछि जिल्लाका उखु किसान उखु खेतीबाट निराश बनेका छन् ।

उखु खेतीतर्फको आकर्षण घटेको छ । उद्योगले भुक्तानी नदिएको कारण दशैँ र दीपावली पर्व मनाउन ऋण लिनु परेको गढीमाई नगरपालिका किसान जयदेव साहले बताए । उनको झण्डै तीन लाख रुपैयाँ बक्यौता छ । उनीलगायत जिल्लाका अधिकांश उखु उत्पादक किसानको बक्यौता रकम उद्योगले भुक्तानी गरेको छैन । जिल्लाका १३ हजार उखु उत्पादक किसानको उखुको भुक्तानी बाँकी रहेको छ सङ्घका सचिव यादवको भनाइ छ ।

उखु उत्पादक सङ्घ रौतहटले दिएको जानकारीअनुसार उद्योगले किसानको ४२ करोड रुपियाँ भुक्तानी दिएको छैन । आर्थिक वर्ष २०७१÷७२ को १२ करोड र २०७५÷७६ को ३० करोड रुपियाँ बक्यौता रहेको ज्ञापनपत्रमा उल्लेख छ । भुक्तानीका बारेमा मिल प्रशासनसँग पटक÷पटक गरेको वार्ता र छलफल असफल भएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवका अनुसार प्रशासनले भुक्तानी दिनुको साटो उल्टै मिल बन्द गर्ने धम्की दिएको छ । यता मिल्स प्रशासनले भने उद्योगको विविध कारणले गर्दा भुक्तानीमा समस्या आएको जनाउँदै यसअघिको धेरै बक्यौता रकम मिलले भुक्तान गरिसकेको र छठ मान्न करिब एक करोड रुपियाँ वितरण गरेको दाबी गरेको छ ।  

रौतहट किसान उखु उत्पादक किसान उखु मिल

विशेष