आइएस पूर्व प्रमुख बग्दादीकी दिदी पक्राउ
एजेन्सी- इस्लामिक स्टेट (आइएस)का पूर्वप्रमुख अबु बक्र अल बग्दादीकी जेठी दिदीलाई उत्तरी सिरियामा टर्की सेनाले गिरफ्तार गरेको छ।
बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सिरियाको अजाज सहरमा गिरफ्तार गरिएको टर्की सरकारले दावी गरेको हो। उनी त्यहाँ आफ्ना परिवारसँग बस्दै आएकी थिइन्। उनको पक्राउसँगै आइएससँग सम्बन्धित महत्वपूर्ण जानकारी बाहिरिन सक्ने टर्कीका एक अधिकारीले बताए। 'उनीबाट बग्दादीको जीवन र इस्लामिक स्टेटका बारेमा केही जानकारी मिल्न सक्नेछ,' उनले भने।
बग्दादीका ५ भाइ र केही बहिनी रहेको बताइँदै आएको छ। तर, उनीहरुमध्ये कति जीवित छन् भन्ने बारेमा भने यथेष्ट प्रमाण कसैसँग नरहेको बिबिसीले लेखेको छ। बग्दादीकी दिदीलाई सिरियाको अलेप्पो प्रान्तमा गिरफ्तार गरिएको हो, जुन स्थल एक महिनायता टर्कीको नियन्त्रणमा छ। यस क्षेत्रलाई इस्लामिक स्टेटका सदस्यका आफन्त बस्ने क्षेत्र भनि चिनिन्छ।
अवाद आफ्ना पति, बुहारी र पाँच बच्चाका साथ बस्दै आएकी थिइन्। हडसन इन्स्टिच्युटका आतङ्कवाद विरोधी विशेषज्ञ माइक प्रेगेन्टका अनुसार उनलाई बग्दादीसँग सम्बन्धित समूहको बारेमा र उनीहरुले प्रयोग गर्ने गोप्य सडकका बारेमा जानकारी हुनसक्छ।