यी हुने नयाँ प्रदेशका प्रदेश प्रमुखहरु
काठमाडौँ। मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाईंलाई प्रदेश ३, म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचनलाई गण्डकी, सिरहाका धर्मनाथ यादवलाई प्रदेश ५, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र काठमाडौंकी शर्मिलाकुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
नेकपाको सक्रिय राजनीति गरिरहेका उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले मंगलबार शपथ गराएपछि उनीहरूले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।
सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सात जनाको नाम छनोट गरेको थियो । नियुक्त भएकामध्ये ४ जना पूर्वएमाले र ३ जना पूर्वमाओवादी पक्षका छन् । अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्वएमालेका हुन् भने परियार, शेरचन र पन्त पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ती कांग्रेस सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार साँझ राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी थिइन् ।
यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुबेदीले लेखेकी छिन।
प्रदेश प्रमुख