राज्यमन्त्रीमाथि ठगी मुद्दा जिल्ला अदालतमा दर्ता
कञ्चनपुर — सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणराज्यमन्त्री प्रकाश रावलमाथि किर्ते र ठगीको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जनज्योति बहुमुखी क्याम्पसको सेयर बिक्रीमा सरकारी कागजात किर्ते र ठगी गरेको आरोपमा रावलसहित ३६ जना सेयर सदस्यविरुद्ध मुद्दा दर्ता भएको हो ।
तारादत्त जोशीसहितका सेयर सदस्यहरूले तत्कालीन सञ्चालक समिति अध्यक्ष इन्द्रराज बडू र क्याम्पस प्रमुख भोलानाथ शर्माका नाममा ०७५ साउनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका थिए । त्यसमा अनुसन्धानपछि प्रहरीले राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । क्याम्पस प्रमुख शर्मालाई केही दिन हिरासतमा समेत राखेको थियो । उनीहरूमाथि कागजात किर्ते गरेको, सेयरको अस्वाभाविक मूल्यांकन गरी लाभांश रकम फिर्ता लगेको, चुक्ता पुँजी दाखिला नगरेको र प्रक्रियाबिनै प्रालिलाई पब्लिक लिमिटेडमा लगी ठगी गर्न खोजेको आरोप छ ।
जिल्ला अदालतका शाखा अधिकृत नवराज पाण्डेयका अनुसार आरोपितमध्ये अधिकांश अदालतमा उपस्थित भई धरौटीमा रिहा भइसकेका छन् । मन्त्री रावल भने अझै अदालत गएका छैनन् ।
राज्यमन्त्री रावलले एक–दुई दिनमै अदालतमा उपस्थित हुने बताए । ‘म समयावधिभित्रै उपस्थित हुन्छु,’ उनले भने, ‘हाम्रो नाममा मुद्दा दर्ता हुनै नपर्ने हो, अनुसन्धानमा कमीकमजोरी भएको हुनुपर्छ ।’ उनले आफूले कुनै पनि सेयर बिक्री नगरेको र लाभांश फिर्ता नलिएको बताएका छन् । (नागरिक दैनिकबाट)