ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पोख्रेलको प्रचण्ड पुत्रीसँग यस्तो छ सम्बन्ध!
काठमाडौं। भ्रष्टाचारविरोधी अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने मुख्य आरोपी अविरल पोख्रेल रहेको खुलासा भएको छ। त्यो सँगै उनी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको निकट मात्र नभइ महानगरपालिकाकै चालक समेत भएको उच्च स्रोतले खुलासा गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल तीन महिनादेखि महानगरपालिकाको चालक भएको खुलासा नगरपालिकाकै उपमेयरले गरेकी छिन्।
महानगरपालिकाकी उपमेयर पार्वती शाही ठकुरीले पोख्रेल हालै भर्ना भएको पुष्टि गरिन्। पोख्रेल चालकको रुपमा काममा आएपछि मात्र आफूले थाहा पाएको उनी कर्मचारी रहेको उपमेयर ठकुरीले बताइन। उनले भनिन, 'पोख्रेललाई मेयरले नै भर्ना गर्नुभएको होला।'
महानगर स्रोतका अनुसार पोख्रेलले महानगरबाट ३ महिनाको तलब पनि लिइसकेका छ्न्। महानगरका मेयर रेणु दाहालको चालक हुनेगरि भर्ना गरिएका पूर्व माओवादी कार्यकर्ता पोख्रेलले महानगरको एक सवारी हाक्दै आएका थिए। व्यापक दबाब पछि पोख्रेललाई पक्राउ गर्नुपर्ने भएपछि उनलाई महानगरको कर्मचारी नभन्ने शर्तमा पक्राउ दिन मेयर रेणुले नै लगाएको स्रोतको दावी छ।
प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो। पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको तथा अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।