सर्वोच्चका नासु पक्राउ, गोप्य रुपमा अनुसन्धान गर्दै अख्तियार
काठमाडौं– सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा अदालतको अभिलेखालय शाखामा कार्यरत नासु सुधिर खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो । अदालतमा हुने ‘मुद्दाको सेटिङ’को घटनाबारे व्यक्तिसँग डिल गर्ने गरेकाे अाराेपमा उनी पक्राउ परेका हुन्।
अख्तियार स्रोतका अनुसार नासु खड्काले सर्वोच्च अदालतकै एकजना न्यायाधीशको नाम लिएर मुद्दा मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डिल गर्ने गरेका थिए । सोही सूचनाका आधारमा खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।
‘पहिलेदेखि नै अनुसन्धान भइरहेको घटनामा उनको संलग्नता देखिएका कारण नियन्त्रणमा लिइएको हो,’ स्रोतले खबरहबसँग भन्यो, ‘अहिले अनुसन्धान चलिरहेको छ ।’ खड्कालाई सोमबार पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सहसचिव) प्रदीप कोइरालाले अनुसन्धानकै क्रममा रहेको घटनाका विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने बताए । ‘यो विषय अहिले अनुसन्धानकै क्रममा छ,’ खड्का पक्राउबारे खबरहबको जिज्ञासामा प्रवक्ता कोइरालाले भने, ‘अनुसन्धानकै क्रममा रहेको विषयमा हामीले धेरै कुरा बोल्न मिल्दैन ।’ खड्का पक्राउको विषयलाई सर्वोच्च अदालत स्रोतले पनि पुष्टि गरेको छ । तर, सर्वोच्चका अधिकारीहरुले उनको पक्राउबारे आधिकारिक जानकारी दिन मानेनन् ।