बालुवाटरको त्यो रात, त्यो बात........

बालुवाटरको त्यो रात,  त्यो बात........

‘नयाँ नयाँ सर्त थप्ने प्रचण्डको कल्चर रहेछ । त्यसरी कहाँ अगाडि बढ्न सकिन्छ ?’ सभामुख कृष्णबहादुर महरा तीनकुने, सुविधानगरस्थित संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको डेरामा छिरेको, रोशनीलाई दुव्र्यवहार गरेको कुरा बाहिरिएर देश तरंगित भएकै दिन बालुवाटार चाहिँ यस्ता कुराले तातिरहेको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेको नेकपा विशेष प्रदेश इञ्चार्ज लीलामणि पोखरेलसहितको टोलीसामु यसरी कडिकडाउ कुरा राखिएको हो । तर, त्यसमा कसैले दोहोरो जवाफ लगाएनन । लीलामणि नै चुप लागे भने पूर्वएमालेहरु झन् बोल्ने कुरै भएन । पूर्वएमालेका विष्णु पौडेल, अरुण नेपाल, डा. राजन भट्टराईहरु त्यहीँ थिए । 

खास विषय थियो– युवा, विद्यार्थी, मजदुर, पेशागत र उद्योग व्यवसायीइ गरी चारवटा गैरभौगोलिक जिल्ला कमिटीलाई पूर्णता दिन संख्याको सहमति बाधक भएको । सबै कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव त टुँगो लागेका छन् । तर, कमिटीहरुलाई पूर्णता दिनका लागि एकतापूर्व कार्यदलले दिएको सुझाव र महासचिवले मोबाइल एसएमएसमार्फत पठाएको संख्याका कारण अन्यौल सिर्जना भएको भन्दै उनीहरु त्यहाँ पुगेका थिए । यी चारमध्ये तीन जिल्ला कमिटी पूर्वमाओवादी केन्द्रले र एकको अध्यक्ष पूर्वएमालेले पाएको छ । त्यसमध्ये मजदूरमा जगत सिंखडा, उद्योग व्यवसायीमा रामप्रसाद सापकोटा, युवा विद्यार्थीमा रमेश मल्ल अध्यक्ष छन् । अध्यक्ष पूर्वमाओवादी भएका कमिटीको इन्चार्ज भने पूर्वएमाले छन् । 

संख्याका कारण कमिटीलाई पूर्णता दिन समस्या भएपछि पूर्वपार्टीका नेताहरुले दुवै अध्यक्षलाई संगै राखेर विषयबारे स्पष्ट हुन चाहेका थिए । तर, प्रचण्ड पुग्नुभएको थिएन । बोलाउने जिम्मा पार्टीको उपत्यका प्रदेश अध्यक्ष तथा प्रमका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको थियो । राजनले प्रचण्डलाई खबर गरेको तर महरा प्रकरण आएदेखि कसैको सम्पर्कमा नरहेका कारण उहाँ आउने, नआउने टुँगो नभएको भन्दै केपी एक्लैले ती नेताहरुसंग कुरा गर्नुभयो । 

पहिला विशेष प्रदेशमा पूर्वमाओवादी ७० र पूर्वएमाले ८१ को सहमति थियो । पछि महासचिवले पूर्वमाओवादीलाई ६६ हुने गरी खबर पठाउनुभयो । जिल्लाको हकमा कार्यदलको निर्णयअनुसार संख्या हुनुपर्ने माग थियो । तर विष्णु पौडेलले विशेष प्रदेशका इन्चार्ज लीलामणि पोखरेललाई  एसएमएस पठाएर संख्या तलमाथि पारिदिनु भयो । पहिला मजदुरमा पूर्वमाओवादीको संख्या बढी भएकाले कमिटीको संख्या र नेतृत्व पूर्वमाओवादीकै भन्ने सहमति थियो । जिल्ला कमिटीमा पूर्वमाओवादी ३९ र पूर्वएमाले ३६ भन्ने भयो । महासचिवले मोबाइलबाट गरेको म्यासेजमा सोलोडोलो सबै जिल्ला कमिटीमा पूर्वएमाले ४३ र पूर्वमाओवादी ३२ हुने भनियो । बालुवाटार भेटमा यही कुरा उठ्यो । ‘प्रभाव बढी भएकोले हिस्सा बढी लिने भनेका हौं ।’

एकजना पूर्वमाओवादी नेताले यसो भनेपछि केपी ओलीले ठाडै भन्नुभयो– ‘माओवादी जम्मा एक चौथाइ हो । यो कुरा प्रचण्डले मानिसकेका थिए । एकताको भाव राम्रो दिनुपर्छ भनेर मैले नै आधाआधा जस्तो दिएर त्याग गरें, लचिलो भएँ । त्यसको परिणाम यही हो ? साढे एक वर्षपछि पनि संख्या मिलेन भनेर एक चौथाइवाला आउने ? नयाँ नयाँ सर्त थप्ने प्रचण्डको कल्चरै रहेछ  । त्यसरी कहाँ अगाडि बढ्न सकिन्छ ?’

केपीले मजदुरमा माओवादीको संख्याबारे पनि टिप्पणी गर्नुभयो । भन्नुभयो, ‘यो कुरा हुनै सक्दैन । माओवादी धेरै भनिएका मजदुर नक्कली हुन् । पहिला पनि माक्र्सवादीले मजदुरमा त्यस्तै गरे । अहिले माओवादीले त्यसै गर्न थाले ।’ लीलामणिले केपीलाई सोधे– ‘अहिले पछि पठाइएको संख्या तपाईंहरु दुई अध्यक्षबीच सहमति हो कि होइन ?’ केपीले भन्नुभयो– ‘सहमति नभई त्यसै जान्छ ? भएकै हो ।’ विष्णु पौडेलले बीचमा थप्नुभयो– ‘अध्यक्षहरुले निर्णय गरेर मलाई दिनुभएको, मैले त्यही तपाईंहरुलाई पठाएको हो ।’

त्यसपछि टोली सोझै पुग्यो, खुमलटार । प्रचण्डसंग सोधियो– ‘संख्याको बारेमा यस्तो सहमति भएको हो कि होइन ?’ प्रचण्डले भन्नुभयो– ‘यो विषयमा कुनै सहमति भएको छैन । मलाई त जानकारी पनि छैन ।’ पूर्वमाओवादीले मजदुर संगठन अन्तर्गत आफ्नो १२ हजार पार्टी सदस्यता दावी गरेको छ भने पूर्वएमालेले ३ हजार ९ सयको विवरण पेश गरेको छ । 
जनआस्था साप्ताहिकबाट साभार ।
 

केपी ओली प्रचण्ड

संम्बधित खबर

विशेष