News

ललिता निवासमा शंकास्पद फैसला, एकाएक रोकियो न्यायाधीसमाथि छानबिन

ललिता निवासमा शंकास्पद फैसला, एकाएक रोकियो न्यायाधीसमाथि छानबिन

काठमाडौँ।  बहुचर्चित ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट भएको फैसलामाथि अनुसन्धान थालेको न्यायपरिषद् एकाएक निष्क्रिय छ । ललिता निवास प्रकरणसँग जोडिएका दुई मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश रमेशराज पोखरेलले ‘शंकास्पद’ फैसला गरेको समाचार कान्तिपुरले प्रकाशित गरेलगत्तै न्यायपरिषद्ले छानबिनका लागि प्रमाण संकलन गरेको थियो ।

उच्च अदालत पाटनबाट समेत मिसिल ल्याएको न्यायपरिषद्ले त्यसपछि छानबिन अघि बढाएको छैन ।

‘पत्रपत्रिकामा प्रकाशित विषयवस्तुमाथि समेत आवश्यक परे छानबिन गर्ने हाम्रो नीतिअनुसार गत साउन पहिलो साता त्यससँग सरोकार पक्षबाट आवश्यक कागजात झिकाएका थियौं,’ परिषद् उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘त्यसपछि सबै चुपचाप बसेका छन् । कुनै दबाब वा प्रभावले छानबिन अघि बढ्न नसकेजस्तो देखिन्छ ।’

काठमाडौं जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश रमेशराज पोखरेलले दुवै मुद्दाको फैसला गरेका थिए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन।  

ललित निवास

विशेष