News

भारतले अतिक्रमण गरेको भुमि फिर्ता गर्ने मागसहित रोल्पामा प्रदर्शन

भारतले अतिक्रमण गरेको भुमि फिर्ता गर्ने मागसहित रोल्पामा प्रदर्शन

रोल्पा।  भारतले नेपालीमा भूमिलाई आफ्नो भूमिमा गाभेको बिरोधमा रोल्पामा प्रदर्शन थालिएको छ।  कुटनीतिक रुपमा सरकारले भारतले मिचेको भुमि फिर्ता ल्याउनु पर्ने माग प्रदर्शनकारीहरुले राखेका छन।  

रोल्पाली जागरुक समूहको व्यानरसहित शिक्षक, बिद्यार्थी, बुद्धिजीवी लागयत प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले  नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा 'गो व्याक इन्डिया' को नारा समेत लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग गरेका छन।  

जिल्लाको सदरमुकाम लिबाङ टुडिखेलबाट निस्किएको नागरिक अगुवाहरुको विरोध प्रदर्शन मुख्य बजार हुँदै बीच बजार पुगेको थियो । बालकल्याण उच्च माध्यमिक विद्यालयबाट स्वस्फूर्त आएको सयौं विद्यार्थीले सात्ताले खोलाबाट नाराजुलुश गर्दै बजार प्रवेश गरेका थिए ।

बिच बजारबाट प्रदर्शनमा उत्रिएका जुलुस टुंडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो।  कोण सभालाई विद्यार्थी नेता शेरबहादुर थापा र आलोक पुन, नागरिक अगुवा घनश्याम आचार्य, पत्रकार महासंघको संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्वअध्यक्ष खेम बुढामगरले सम्बोधन गरेका थिए ।

उनीहरुले सरकारले कुटनीतिक रुपमा भारतले अतिक्रमण गरेको भुमि फिर्ता लिनुपर्ने र तत्काल नेपाली नक्सा सार्वजनिक गर्नुपर्ने जिकिर गरेका छन।  कुटनीतिक पहलमा यदि भारतले अतिक्रमण गरेको नक्सा नसच्चिएसम्म निरन्तर आन्दोलनमा उत्रिने नेपाल पत्रकार महासंघका अध्यक्ष महेश न्यौपानेले चेतावनी दिएका छन।  

 

रोल्पा प्रदर्शन नेपाली भुमि अतिक्रमण

विशेष