चितुवाबाट जोगिन तनहुँमा पूजापाठ, १२ बोकाको बली
तनहुँः तनहुँको भानु नगरपालिकाको विभिन्न वडामा पटक–पटक चितुवाले आक्रमण गरी बालबलिकाको ज्यान लिन थालेपछि त्यस क्षेत्रमा पूजापाठ गरिएको छ । नगरपालिकाको १, २, ३ र ४ नम्वर वडाका दुईसय ५२ घर धुरीका पाँच सयभन्दा बढी स्थानीयको सहभागितामा त्यहाँको कालिका मन्दिरमा आइतबार पूजा लगाइएको हो ।
भानु–२ का वडाध्यक्ष अर्जुन बहादुर केसीका अनुसार त्यस क्षेत्रमा पहिले पनि पूजाआजा गरिँदै आएको थियो तर, पछिल्लो समय पूजापाठ नगर्दा देवीदेवता रिसाएकी भनेर त्यसलाई निरन्तरता दिनको लागि पूजा गर्ने व्यवस्था मिलाएका हौं ।
‘वडा नम्बर १ को भीमसेन थुम्का कालिका र वडा नम्बर २ को थप्रेक कालिकाको मन्दिरमा पुजापाठ गरिएको छ । पुजापाठ गरिएपछि तत्कालै त्यस क्षेत्रमा पानी पनि परेको छ ।’ पानी परेपछि स्थानीय पनि खुशी भएको उनले बताए ।
बाह्र बोकाको बली
भीमसेन थुम्कामा दशवटा र थप्रेक कालिका मन्दिरमा दुईवटा गरी बाह्रवटा बोकालाई बलि दिइएको छ । पहिलेदेखि नै चलिआएको परम्पराको संस्कारलाई निरन्तरता दिएको स्थानीयको भनाइ छ ।’ पूजाआजा गरेपछि त्यहाँका स्थानीयले सुरक्षित महसुस गरेका छन्’ वडाध्यक्ष केसीले भने, ‘पुजा पश्चात चितुवा बस्तीतर्फ पस्दैनकी भन्ने विस्वास गरिएको छ ।’
पछिल्लो समय दिनहुँजसो चितुवाले बालबालिकालाई घरमै आई ज्यान लिन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बन्दै आएका थिए । त्यस्तै निरन्तरको आक्रमण प्रयास नरोकिएपछि बालबालिका विद्यालय जानसमेत डराउन थालेका छन् । चितुवाको आक्रमण नरोकिएपछि अभिभावकलाई आफ्ना केटोकेटीलाई एक्लै नछाड्न आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।
करिब २० महिनाको अवधिमा चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाको ज्यान गइसकेको छ भने ४ जना घाइते भएका छन् ।