अदालतमा आलमको तेस्रो दिन : आलमको बयान सकियो, थुनछेकको बहस आजै
काठमाडाैँ – राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमसँग बयान सकिएको छ। जिल्ला अदालत रौतहटले तीन दिन लगाएर बयान लिएको हो।
पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न सोधिएको थियो भने दोस्रो दिन बुधबार २५ प्रश्न सोधियो। तेस्रो दिन उनलाई न्यायाधीशले २६ वटा प्रश्न गरेका थिए।
चार नम्बर इजलासका न्यायाधीश दिपक ढकालले सोधेका अधिकांस प्रश्नको जवाफमा आलमले अपराध अस्वीकार गरेका छन्। तत्कालीन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलमले हो त्यसबेला मुद्दा नचलाउने निर्णय भएको बताएका थिए। आलमले यहि एक मात्र प्रश्नको साविती बयान दिएका हुन्।
आलमको आजनै थुनछेकको बहस हुनेछ। जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालका अनुसार २ बजेबाट बहस सुरु हुनेछ।
अभियोगपत्रमा आलमविरुद्ध सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएको छ। २०७४ सालमा आएको नयाँ मुलुकी अपराधसंहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन। तर आलमको केस मुलुकी अपराधसंहिता लागू हुनुभन्दा पहिलाको भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदक मागदाबी गरिएको हो। जिल्ला अदालत रौतहटमा दायर ०७६ सिए ००९५ दर्ता नम्बरको मुद्दामा आलमसहित एघार जनालाई प्रतिवादी बनाइएको छ। आलमलाई विष्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ।