कौडा खेल्दै गरेका वडाध्यक्षसहित २८ जुवाडे पक्राउ, लाखाै रुपैयाँ बरामद
लमजुङ – लमजुङमा वडाध्यक्षसहित २८ जना पक्राउ परेको छन् । प्रहरीले कौडा (जुवा) खेल्दै गरेको अवस्थामा राइनास नगरपालिका ७ का वडाध्यक्ष माधव पराजुलीसहित २८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भोटेओडारका इन्सपेक्टर राजेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति साढे १२ बजेदेखि पौने १ बजेको समयमा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । ‘गोप्य सूचनाको आधारमा हामी खोज्दै गयौं । पाँचभाइ चौताराको गणेश गुरुङको घरमा खेल्दै गरेका रहेछन् । हामीले सबैलाई पक्राउ गर्न सफल भयौँ’ उनले भने ।
पक्राउ पर्नेहरु मध्ये राइनास नगरपालिका ७ का ७ जना र वडा नम्बर ६ का १० जना छन् । सुन्दरबजार बजार नगरपालिका र मध्यनेपाल नगरपालिकाका १/१ जना छन् । छिमकी गोरखाको पालुङटार नगरपालिकाका ९ जना रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बसन्तबहादुर रानाले बताए । गणेश गुरुङ आफैं प्रहरीमा आउने भनेकाले उनलाई भने पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट १ लाख ७१ हजार ६ सय १२ रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ । जुवाको २ खालबाट ८३ हजार २ सय ३५ रुपैयाँ र उनीहरुका साथबाट ८८ हजार ३ सय ७७ रुपैयाँ बरामद गरिएको उनले बताए । यस्तै, ३२ वटा कौडा समेत बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार ८ दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको इन्सपेक्टर रानाले बताए ।