आज हरिबोधनी एकादशी, तुलसी बिष्णुको बिवाह गरिदै
ललितपुर । कात्तिक शुक्ल एकादशीका दिन शुक्रबार हरिबोधिनी एकादशी मनाइँदै छ । भगवान् विष्णुको पूजाआज गरी व्रत बसेर यो एकादशी मनाउने गरिन्छ । घरमा रहेका तुलसीको मोठलाई सिंगारी फूलमाला लगाई मठभित्रका तुलसीको विवाह गरिदिने चलन छ । यस दिनमा व्रत बस्ने व्रतालुले एक छाक चोखो खाई पिँडालु, सखरखण्ड, बदाम, फलफूलसमेत खाने चलन छ । यस अवसरमा उपत्यकाका चार नारायण, चाँगु, इचङ्गु, विशंखु र शेष नारायणलगायत देशैभरीका नारायणका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । ठूलो एकादशीका नामले पनि परिचित यो एकादशीका दिन उपत्यकाबाट उत्तरमा रहेको बूढानीलकण्ठमा पनि भक्तजनको भीड लाग्नेगर्छ ।
एकादशीको भोलिपल्ट द्वादशीका दिनदेखि घरघरमा तुलसीको हवन गर्ने चलन छ । एकादशीका दिन भगवान विष्णु र लक्ष्मीको आगमन हुने विश्वासका साथ साँझ घरघरमा तिहारमा जस्तै दीपावली गरिने परम्परा छ । घरमा महिलाले दीयो कलश गणेश थापी नारायणको स्मरण गरी सुख, शान्ति र समृद्धिको कामना गर्छन् । यसक्रममा शंख ध्वनिसहित घन्ट बजाएर भजनकीर्तन र नारायणको नाम स्मरण गर्दै तुलसीको मठलाई नारायणको मन्दिर ठानी परिक्रमा गरिन्छ । आफ्नो घरबाहेक अन्य ३ घरका मठमा गई तुलसीको पूजा गर्नाले चारै नारायण घुमेसरह हुने विश्वास छ । एकादशीका दिन साँझ भजनकीर्तन गर्दै रमाइलो गर्ने परम्परा छ । यसक्रममा एकादशी एकादशी भन्दै भट्याउने गरिन्छ ।
भगवान् नारायणको पूजाका लागि घरमा बनाइएको तुलसीको मोठ सिंगार्नेदेखि लिएर पिँडालु र सखरखण्डको व्यवस्थापनमा श्रद्धालुहरू बिहीबारदेखि नै जुटेका छन् । सहर बजारमा पनि बदाम, फूलमाला, सखरखण्ड,पिँडालु, अमलालगायत कन्दमूलको व्यापार गर्नेहरूको भीड लागेको छ । विशेषगरी बजारमा लोकल सखरखण्डको ८० देखि ९० सम्म तथा लोकल पिँडालुको ७० देखि ८० सम्म किनबेच भइरहेको छ ।
हरिशयनी एकादशीबाट सुरु भएको चतुरमास पनि हरिबोधिनी एकादशीबाट सकिँदै छ । चार महिनासम्म समुन्द्रमा शयन गर्नुभएका भगवान विष्णु यही दिनबाट बैकुण्ठ जाने धार्मिक विश्वास छ । तुलसीलाई धार्मिक हिसाबले पनि महत्वपुर्ण वनस्पतिको रूपमा लिइन्छ । धार्मिक हिसाबसँगै वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पति रहेको विज्ञहरूले बताएका छन् । तुलसीमा धेरै अक्सिजन पाइने हुनाले मान्छेलाई अन्तिम अवस्थामा पनि तुलसीको मठमा राख्ने गरिएको पाइन्छ । यस्तै, औषधीय हिसाबले पनि तुलसी महत्वपुर्ण वनस्पति मानिन्छ । तुलसीमा धेरै प्रकारको रोग निवारण गर्ने शक्ति हुने आयुर्वेदका अध्यताहरूले बताएका छन् ।
तुलसीलाई भगवान विष्णुको अवतारका रूपमा लिएर पूजा गर्ने परम्परा छ । सत्य युगमा जालन्धरकी पत्नी व्रिन्दाले विष्णुलाई झार हुनुपरोस् भनी सराप दिएकाले विष्णु भगवान झारस्वरूप तुलसी भएको उल्लेख छ । पौराणिक कथाअनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान् विष्णुले ठूलो संघर्ष गर्नुपरेको थियो । मुर दैत्यको संहार गरेकाले विष्णु भगवानलाई मुरारी पनि भन्ने गरिन्छ । वर्षमा पर्ने २४वटा एकादशीमध्ये चतुर्मास व्रत सुरु हुने हरिशयनी एकादशी र व्रत समाप्त हुने हरिबोधिनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ ।
यो समाचार आजको राजधानी दैनिकमा नबिन लुइंटेलले लेखेका छन।
हरिबोधनी एकादशी