कालापानी–लिपुलेक विवाद समाधान गर्न भारत तयार
काठमाडौंः नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको भारतले नेपालमा त्यसको चर्को विरोध भएपछि कूटनीतिकतवरबाट समाधान खोज्ने स्पष्ट पारेको छ ।
भारतले नेपालको सीमा नमिचेको दाबी गर्दै समस्या समाधान गर्न भारत तयार रहेको जनाएको हो । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गरे ।
सीमामा बाँकी केही समस्या समाधान गर्न भारत तयार रहेको उनको भनाइ छ । ‘नेपालसँग दुईपक्षीय सम्बन्धको मर्ममा अडेर सीमा समस्या समाधान गर्नेछ,’ उनले भनेका छन्, ‘हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ । नक्सा मिचिएको संकेत छैन ।’
उनले दुई देशबीचका सीमा समस्या उच्चस्तरीय संयुक्त आयोगको बैठकबाट समाधान हुन बाँकी रहेको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
नक्सा नेपाली भूमि कालापानी–लिपुलेक