अफ्ताबकै आदेशमा भाइ डा. अख्तरले घाइतेलाई दिएका थिए बेहोस हुने इन्जेक्सन

काठमाडौंः १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ स्थित शेख इद्रिसको टहरोमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इन्जेक्सन लगाई बेहोस पार्ने डाक्टरको परिचय खुलेको छ । घाइतेलाई इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा सांसद मोहम्मद अफ्ताब आलमका काकाको छोरा डा. समिम अख्तर संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ । अख्तर हाल रौतहटको गौरमा कांग्रेसका पुराना नेता शेख इद्रिस खालिहानको नाममा ‘श्री शेख इद्रिस डाइग्नोस्टिक सेन्टर’ क्लिनिक सञ्चालन गरेर बसेका छन् ।
डा. अख्तरले पाकिस्तानबाट एमबिबिएस अध्ययन गरेका हुन् । तर, प्रहरीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न अभियुक्तबारे भने अनुसन्धान अघि बढाएको छैन । इन्जेक्सन लगाउने कार्यमा संलग्नहरूको सम्बन्धमा सूचना प्राप्त नभएकाले अनुसन्धान अघि नबढाएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न हुनेहरूको सम्बन्धमा सूचना प्राप्त नभएको बताए । अब भने यस सम्बन्धमा पनि अनुसन्धान अघि बढाइने उनले बताए । ‘विस्फोटका घाइतेलाई इन्जेक्सन लगाएर बेहोस बनाएको र पछि इँटाभट्टामा लगेर जलाएको जानकारीमा छ । तर, कसले इन्जेक्सन लगाएको हो? त्यस सम्बन्धमा भने सूचना थिएन । अब सूचना संकलन गर्ने कार्यमा प्रहरी अघि बढिसकेको छ,’ एसपी खत्रीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
रौतहट बम विस्फोट मोहम्मद अफ्ताब आलम इन्जेक्सन