News

‘दराज अनलाइन’को ठगी धन्दा, उपभोक्तालाई कमसल सामान बिक्री

‘दराज अनलाइन’को ठगी धन्दा, उपभोक्तालाई कमसल सामान बिक्री

काठमाडौंः अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ । अनलाइनमार्फत विभिन्न सामान बिक्री गर्दै आएको उक्त कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन् ।

भाँडाकुँडा, कपडा, गरगहना, मोबाइलजस्ता सामान बेच्दै आएको उक्त कम्पनीले हेर्नै नदिई आफूले मगाएकोभन्दा कम गुणस्तरको सामानलाई बढी मूल्य लिएको एक उपभोक्ताले बताउँदै भने, ‘आफूले सामान नदेखाए नलिनेभन्दा सामान देखाउन नमिल्ने र सामानको खोल खोले फिर्ता नहुनेजस्ता धम्की दिए।’

अर्का एक उपभोक्ताको पनि यस्तै गुनासो छ । एउटा सामानमा धेरै छुट देखाएर बजारमूल्यभन्दा धेरै मूल्यमा बिक्री गर्ने गरेको उनले बताए । उनका अनुसार सामान बिकाउन भारी छुट दिएजस्तो गरी बजार मूल्यभन्दा बढीमा बिक्री गर्ने गरिन्छ ।

यतिमात्रै नभई उक्त अनलाइनले बिक्री गर्न बाहिरी मानिसलाई पठाउने र पछि सम्पर्कविहीन हुने जस्तो कार्यसमेत गरेको पाइएको छ । यस्तै उपभोक्ताको पैसा फिर्ता नगर्ने अधिकांश उपभोक्ताको गुनासो छ ।

प्रदीप अधिकारीले अरू बेला १ हजार १ सय ६० रुपियाँ पर्ने घडीलाई दराजले ११.११ स्पेसलमा १ हजार ९ सय ८४ मूल्य राखेको सामाजिक सञ्जालमा राखेका छन् । यस्तै, सुजन श्रेष्ठका अनुसार क्यानन ५० एमएम लेन्स भएको क्यामेरालाई ११.११ मा यसको दोब्बर मूल्य राखिएको छ ।

यी घटना प्रतिनिधि घटना मात्रै हुन् । दराज अनलाइनबाट अनलाइन किनमेल गर्नेहरूको गुनासो यसअघि विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरिसकेका छन् । यद्यपि यसबारे न दराजले नै केही सुधार गरेको छ न त सरकारी निकाय नै यसबारे जानकार रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो । 

ठगी दराज अनलाइन कमसल सामान

विशेष