News

कालापानीबारे छलफल गर्न कात्तिक २५ मा प्रधानमन्त्रीलाई बोलाइयो

कालापानीबारे छलफल गर्न कात्तिक २५ मा प्रधानमन्त्रीलाई बोलाइयो

 भारतले आइतवार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ । 

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमवार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो । नेपाल–भारतबीच कालापानीका सम्वन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने भएकाले समितिले उहाँलाई आगामी सोमवारको बैठकमा बोलाउने कार्यसूची तयार गरेको हो । 

त्यस्तै प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्वन्ध समितिले पनि कालापानीका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोही दिन बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आमन्त्रण गरेको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।

यद्यपि नेपाल सरकारले यसअघि नै कालापानी क्षेत्र नेपालको भूभाग भएको भनि स्पष्ट गरिसकेको छ । 

यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।  

कालापानी विवाद प्रधानमन्त्रीसंग छलफल

विशेष