डायलासिसका लागि प्रधानमन्त्री फेरि पुगे अस्पताल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न अस्पताल पुगेका छन् ।१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् ।
‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो ।
उनी १० दिन अस्पताल बसेर १९ मंसिरमा बालुवाटार फर्किएका थिए ।प्रधानमन्त्री ओलीको करिजव १२ वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको छ । उनको मिर्गौला पुनः प्रत्यारोपणबारे पनि छलफल भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।