संसद्भित्रै यौनहिंसा : ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’
गण्डकी। ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’
गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेर्स्याएका प्रश्न हुन् यी । उनले संसद्भित्रै आफूहरूमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुष सांसदबाट संसभित्रै हामीमाथि यौनहिंसा भएको छ, तर इज्जतको डरले सहन बाध्य छौं ।’
पुरुष सांसदहरूले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उनले भनिन् ।
पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद् भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकोमा उनले गुनासो गरिन् । ‘हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौं,’ लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उनले भनिन्, ‘हामी उनीहरूलाई सम्मान गर्छौं, सम्मानस्वरूप हात मिलाउने बानी छ । मैले मात्र होइन, सबै महिला साथीले पुरुषसँग हात मिलाउनुहुन्छ, तर उनीहरूले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन् ।’
उनले शिक्षित महिला पनि यौनहिंसाबाट पीडित बन्नुपरेको बताइन् । ‘यो उमेरमा, यो अवस्थामा आउँदा पनि किन यस्तो ?,’ भावुक बन्दै उनले प्रश्न गरिन्, ‘अनावश्यक मान्छे, बिनाकाम हामीलाई छुन आउँछन् । हामीलाई किन छुने भन्ने मेरो जिज्ञासा हो । हामीले राम्रोसँग हिंसा भएको अनुभव गरेका छौं तर भन्न भएन, भन्नैपरे पनि कोसँग कहाँ गएर भन्ने ? मौन बस्नुको अर्को कुनै विकल्प छैन ।’ यौनहिंसा र महिला हिंसा गर्ने यस्ता पुरुष सांसदविरुद्ध महिला सांसदले एक भएर आवाज उठाउनुपर्ने उनले बताइन् ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रतिक्षा कद्लेले लेखेकी छिन।
संसद्भित्रै यौनहिंसा