१३ औँ सागः अन्तिम दिन आज ५ खेलमा भिडन्त

१३ औँ सागः अन्तिम दिन आज ५ खेलमा भिडन्त

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन मंगलबार विभिन्न ५ खेलमा भिडन्त हुँदैछ । आज बास्केटबल, बक्सिङ, फुटबल, जुडो र स्क्वासमा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धा काठमाडौं उपत्यकामा हुनेछ ।

फुटबलको फाइनलपछि समापन समारोह शुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट सम्वोधन गर्नेछन् । त्यसैगरी प्रधानमन्त्री ओलीले बुधबार खेलाडीको नाममा सम्वोधन गर्दै विशेष प्याकेजको घोषणा गर्ने बुझिएको छ ।

पदक तालिकामा नवौं दिनसम्म भारतले १५३ स्वर्णसहित अग्रता बनाएको छ । नेपालले ४९ स्वर्ण जितेर दोस्रो स्थानमा रहेको छ ।

बास्केटबलः बास्केटबलको अन्तिम दिन मंगलबार महिला र पुरुषमा स्वर्ण र तेस्रो स्थानको लागि खेल हुनेछ । महिलातर्फ कास्यको लागि भुटान र माल्दिभ्स तथा पुरुषतर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ । महिलातर्फको कास्यको लागि लागि ८ बजे र पुरुषतर्फको लागि १०ः३० बजे खेल हुनेछ ।

पुरुषतर्फको फाइनलमा भारत र श्रीलंकाबीच अपरान्ह १ः०० बजे तथा महिलातर्फ नेपाल र भारतबीचको फाइनल अपरान्ह ३ः३० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ ।

बक्सिङः साग अन्तर्गत बक्सिङमा आज ८ स्वर्णका लागि प्रतिस्पर्धा हुदैछ । प्रतिस्पर्धा अपरान्ह १ः०० बजेदेखि, अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोको कराते हलमा हुनेछ ।

फुटबलः नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ः०० बजेपछि दशरथ रंगशाला, त्रिपुरेश्वरमा शुरु हुनेछ । त्यसअघि दिनको ११ः५५ बजे सांसद् ११ र राष्ट्र सेवक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल हुनेछ । नेपाल लगातार दोस्रोपटक च्याम्पियन बन्ने दाउमा रहँदा भुटान इतिहास रच्ने अभियानमा हुनेछ ।

जुडोः साग अन्तरगत जुडोमा मंगलबार १ स्वर्णको लागि प्रतिस्पर्धा हुदैछ । खेल बिहान ९ः०० बजेदेखि सुरु हुनेछ । फाइनल १२ः३५ देखि आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुनेछ ।

स्क्वासः स्क्वासमा मंगलबार महिला टिम र पुरुष टिममा स्वर्णका लागि सातदोबाटोस्थित स्क्वास हलमा हुनेछ । महिला र पुरुष टिम इभेन्टसमा स्वर्णका लागि पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । 

१३ औं साग १३ औं

संम्बधित खबर

विशेष