News

आज बिजोर नम्बरका सवारी साधन चलाउन नपाइने

आज बिजोर नम्बरका सवारी साधन चलाउन नपाइने

काठमाडौँ। १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन मंगलबार काठमाण्डाैका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै मंगलबार जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ ।

यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो । सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले मंगलबार सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नं १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ ।

सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ । खेल हेर्न आउने सबैका लागि पार्किङस्थल टुँडिखेल तोकिएकाले त्यही ठाउँमा पार्किङ गर्न भनिएको छ । यस्तै मंगलबार खेल हेर्न टिकट काटेका दर्शकलाई मूलगेट प्रवेश नगरी आर्मी अफिसर्स क्लबको गेटबाट प्रवेश गर्न आग्रह गरिएको छ । 

 

१३ औं साग

विशेष