News विदेश

भारतीय गृहमन्त्रीले भने – नेपाली नागरिकलाई सजिलै नागरिकता मिलिरहेको छ

भारतीय गृहमन्त्रीले भने – नेपाली नागरिकलाई सजिलै नागरिकता मिलिरहेको छ

काठमाडौँ – भारतीय गृहमन्त्री अमित शाहले  नेपाली नागरिकहरुलाई भारतमा सजिलैसँग नागरिकता मिलिरहेको दाबी गरेका छन् । मन्त्री शाहले सन् १९५०को सन्धिको हवला दिँदै भारतमा नेपालीहरुले नागरिकता पाइरहेको दाबी गरेका हुन् ।

नागरिकता संशोधन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिन लोकसभामा उपस्थित भएका गृहमन्त्री शाहले नेपालको सन्दर्भ कोट्याएका हुन् । गृहमन्त्रीले भारतमा राष्ट्रिय बहस र विवादको विषय बनेको नागरिकताको बारेमा सदनमा गर्मागर्मी बहस र होहल्लाका विच एक घण्टा बढी समय लिएर बोलेका थिए ।

नागरिकता संशोधन विधेयकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तान तीन देशका शरणार्थीलाई मात्रै नागरिकता दिने प्रावधान किन राखियो भन्ने प्रश्नको जवाफ दिँदै भारतीय गृहमन्त्री शाहले लोकसभामा भने, ‘युगान्डाबाट आएकालाई कांग्रेस सरकारले शरण दियो, नागरिकता दियो ।

अहिले तीन देशलाई मात्रै किन लिइरहेको छ ? चीनलाई किन लिइएन ? नेपाललाई किन लिइएन ? श्रीलंकालाई किन लिइएन ? म्यानमारलाई किन लिइएन ? जबजब नागरिकताका बारेमा निर्णय लिइन्छ, कुनै एक निश्चित आधारमा लिने गरिएको छ ।’ 

लोकसभामा बोल्दै गृहमन्त्री शाहले भने, ‘नेपालीको जहाँसम्म कुरा छ, मान्यवर १९५०, ३१ जुलाईमा भारत–नेपाल शान्ति एवं मैत्री सन्धि अनुच्छेद ७ – दुवै देश आफ्नो–आफ्नो क्षेत्रमा दोस्रो देशका नागरिकलाई निवास, सम्पत्तिको स्वामित्व, व्यापार, वाणिज्यसम्बन्धी अधिकार दिनका लागि सहमत भएका छन् ।

नेपाली नागरिकलाई पनि अर्जी आवेदनका आधारमा आज पनि सजिलैसँग नागरिकता मिलिरहेको छ । यसमा कुनै बाधा छैन ।’ गृहमन्त्रीले राजीव भने ‘गान्धीकै पालामा आसाममा सन् १९७१ को ‘कट अफ डेट’ राखेर सबैलाई भारतीय नागरिकता दिइएको र त्यसलाई मान्यता समेत दिएको छ’,। उनले भने, ‘आसाममा राजीव गान्धीले १९७१ लाई कट अफ डेट मानेर नागरिकता दिएका थिए । एक देशको नागरिक अर्को देशमा गएर नागरिकता लिन सक्छ ।

ग्रीनकार्ड के आधारमा लिइन्छ ? गृहमन्त्रीले भने ‘पूर्वोत्तर भारतका धेरै मानिसहरुमा भय खडा गर्ने प्रयास भइरहेको छ । कोही पनि आक्रान्त हुन जरुरी छैन’ भारतीय गृहमन्त्री शाहले संसदमा थपे , ‘पूरै उत्तरपूर्वका सबै राज्यको चिन्ताको निराकरण यस विधेयकमा समाहित छ । कोही उक्साहटमा नआउनुहोला । कुनै आन्दोलन नगर्नोस् । धेरै भइसकेको छ, अब यो देश शान्तिका साथ अघि बढ्न चाहन्छ ।’ संशोधित नागरिकता विधेयकबाट पूर्वोत्तर भारतका कसैले पनि डराउनु नपर्ने भन्दै शाहले विश्वास दिलाए ।

विशेष