कास्की–२ मा विद्याको जित सुनिश्चित
पोखरा । उपुनिर्वाचन भएको मुलुकको एकमात्र प्रतिनिधिसभा सिट कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित सुनिश्चित भएकाे छ। कुल ८ हजार ३ सय ६३ मत गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारिसकेकी छन् ।
निर्वाचन कार्यालयका अनुसार अब तीनवटा वडाको मत गन्न बाँकी छ । पछिल्लो मत परिणाम अनुसार विद्याले २० हजार ७७९ मत प्राप्त गर्दा खेमराजको १२ हजार २५९ मत छ । नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् भने कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ ।
रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए । विद्या र खेमराजको मतान्तर अहिलेनै ८ हजार ५ भन्दा माथि पुगिसकेको छ ।