राज्यमन्त्री दुगडले हडपे सचिवको कार्यकक्ष

राज्यमन्त्री दुगडले हडपे सचिवको कार्यकक्ष

‘तपाईंहरुलाई अलिकति पनि शर्म लाग्दैन ? म पियन हो कि मन्त्री ?’ भन्दै राज्यमन्त्रीले थर्काएपछि कर्मचारीको भागाभाग चलेको छ । यसो भन्दै राज्यमन्त्रीले सचिवलाई कार्यकक्षबाट निकालेरै छाडे । र, आफू त्यहाँ पुगे । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुन् , यसरी कर्मचारी थर्काउँदै मन्त्रालय चलाउने । उनका मन्त्री छन् , लेखराज भट्ट । तर, उनको बोली व्यवहार यस्तो छ कि, मानौं फुलमन्त्री नै हुन् । आफ्नो कार्यकक्ष साँघुरो भएको, भेटन आउने साथीभाइ नाक थुनेर बस्ने गरेको जस्ता गुनासो गर्दै वाणिज्य सचिव वैकुण्ठ अर्यालको कार्यकक्ष खाली गर्न निर्देशन दिए । 

‘सचिव पनि त यो मन्त्रालयको कर्मचारीमध्ये सबभन्दा ठूलो हाकिम हो । उहाँलाई किन नराम्रो कोठामा पठाउने ?’ भन्दै आन्तरिक व्यवस्थापनका कर्मचारी दुगडलाई सुझाव दिन खोज्दै थिए, उनी बम्किहाले– ‘अरे मलाई नसिकाउनुस् यार, सबकुछ थाहा छ ।’ यसपछि सचिव अर्याल राज्यमन्त्रीको कोठामा सरेका छन् , राज्यमन्त्री उनीकहाँ । 

कोठा मात्रै फेरेर उनलाई पुगेन । भित्ताको रंग भएन । भित्तामा टाँस्नका लागि बजारमा किन्न पाइने स्टिकर हालिदिनुपर्ने उनको माग छ । कार्पेट फोहोर भद्दा भयो । त्यो तुरुन्तै फेरिदिनुपर्ने भनेका छन् । कार्यकक्षमा २४ इञ्चको एलइडी मनिटर (टेलिभिजन सेट) छ । त्यसले पुगेन ५५ इञ्चको चाहिने भयो । राज्यमन्त्रीको माग सुनेपछि आन्तरिक व्यवस्थापन हेर्ने सहसचिव रामचन्द्र ढकालको पड्कने पालो आयो । भने, ‘कि मलाई सरुवा गरिदिनुस् , म तपाईंको माग पूरा गर्न सक्दिन ।’ 

यसपछि दुगड चुपचाप छन् । राज्यमन्त्रीको अत्याचार सहन नसकेर कर्मचारीहरु मन्त्री लेखराज भट्टकहाँ पुगेर गुनासो गरेका छन् । भट्टले प्रधानमन्त्रीले बनाएको मान्छे, म के भनौं ? बरु उतै (प्रम) गएर कुरा गर्नुस् न’ भन्दै आफू पन्छिए । 

उनको सेञ्चुरी मसला उद्योगको टेण्डरसम्बन्धी मुद्दा अहिले पनि उद्योग विभागमा चलिरहेको छ । मुद्दा लागेको मान्छे नै राज्यमन्त्री भएर आउने, त्यसमाथि हप्की दप्की पनि गर्ने भएपछि कर्मचारी तनावमा हुने नै भए । न मुद्दा हेर्न पाइने भयो, बरु उल्टै मुद्दावाल मन्त्रीको गाली सुन्नुपर्ने स्थिति छ । जनआस्था साप्ताहिकबाट साभार ।
 

राज्यमन्त्री वैकुण्ठ अर्याल

संम्बधित खबर

विशेष