कहिले हुँदैछ राष्ट्रियसभाको निर्वाचन? सरकारले गर्याे यस्ताे निर्णय!
सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । राष्ट्रिय सभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । सोहीअनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो ।
यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।
त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।