News

५ हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदै

५ हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदै

काठमाडौंः देशभरका एक सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने भएको छ । कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी भएपछि सरकारको निर्णयअनुसार दरबन्दी तथा अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको छ । 

सम्बन्धित जिल्लाका स्थानीय तहमा मात्र होइन, फरक जिल्लाका स्थानीय तहमा समेत दरबन्दी तथा राहत कोटा हस्तान्तरण हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ  । १४ जिल्लाका तीन हजार तीन सय ५९ शिक्षक दरबन्दी तथा राहत अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेछ ।

१५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार चार सय ९३ दरबन्दी तथा राहत कोटा मिलान हुने शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।

शिक्षकको अन्तरप्रदेशसमेत मिलान हुने उनको भनाइ छ । ‘एक सय पाँच दरबन्दी तथा राहत अनुदान कोटा एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुनेछ,’ मन्त्री पोखरेलले भने ।

 अहिले देशभर प्राथमिक तहको शिक्षक दरबन्दी ८० हजार एक सय ७६ छ । निम्न माध्यमिकतर्फको दरबन्दी १६ हजार दुई सय ४४, मावितर्फको दरबन्दी १२ हजार सात सय २५ छ । साबिकको उच्च माध्यमिकतर्फको दरबन्दी दुई हजार छ ।

विभिन्न जिल्लामा शिक्षक विद्यार्थी अनुपात निकै असमान छ । विद्यालय क्षेत्र सुधार योजनाअनुसार विद्यार्थी शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडमा ३५ र तराई तथा उपत्यकामा ४० हुनुपर्छ ।

देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य र कतै अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिँदै आएको छ ।

शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार गरेको तथ्यांकअनुसार कक्षा एक देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य रहेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

शिक्षक दरबन्दी स्थानीय तह राहत अनुदान

विशेष